अनुगमनलाई निरन्तरता

विचार

बिहान उठेदेखि रातिसम्म प्रयोग गर्ने दैनिक उपभोग्य सामानमा उपभोक्ता ठगिन बाध्य छन् । बजारमा पसलैपिच्छे फरक मूल्य छन् भने अखाद्य वस्तुहरु पनि खुलम खुल्ला बिक्री हुने गरेका छन् ।
फितलो कानुन र अनुगमनको नहुँदा उपभोक्ता हरेक पटक ठगिनुपरेको छ । अझ विषशेगरी चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अखाद्य वस्तुहरु भित्रिने गरेको पाइन्छ । जसका कारण उपभोक्ता दिनदहाडै ठगिन बाध्य छन् ।
बजारमा सामान किन्दा ठगिन बाध्य धेरै उपभोक्तालाई अहिले पनि संयुक्त राष्ट्रसंघको महासन्धि, सन्धि, नेपालको संविधान र कानुनहरू समेतले उपभोक्ता हकअधिकार सुनिश्चित गरेको थाहा छैन ।
त्यसो त देशमा उपभोक्ता अधिकारको सवालमा आवाज उठाउने धेरै संघसंस्थाहरु छन् । बजारमा अस्वभाविक भइरहने मूल्यवृद्धि, कालोबजारी, सिन्डिकेटको आडमा खुलेआम उपभोक्ताको अधिकार हनन् भइरहेको अवस्थाप्रति सरोकारवाला निकाय मुकदर्शक मात्रै बनेका छन् ।
किन कर्मकाण्डी रुपमा मात्रै प्रस्तुत हुन्छन् त उपभोक्ता अधिकारकर्मी र सम्बन्धित सरकोरावाला संघ, संस्थाहरु ? के उपभोक्तावादी संस्थाहरुले जनताको नाममा झनै लुट धन्दालाई प्रश्रय दिएका हुन् त ? यो प्रश्न यतिबेला आम नागरिकको मनमा उठेको प्रश्न हो । बजारमा न मूल्यमा एकरुपता छ न त राम्रो गुणस्तर सामान पाउन सकेका छन् उपभोक्ताले ।
बजारमा हुने अखाद्य वस्तु र कालोबजारी हुन नदिन के प्रयास भइरहेको छ त ? आज हामीले राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी । 


माया आचार्य
संयोजक
बजार व्यवस्थापन तथा अनुगमन
समिति तुलसीपुर उपमहानगरपालिका

कालोबजारी तथा अखाद्य वस्तु नियन्त्रणका लागि हामीले कार्यदल नै बनाएका छौँ । तुलसीपुरको बजारमा हुनसक्ने कालो बजारी नियन्त्रणका लागि तरकारी, फलफुललगायतका छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढेका छौँ ।
स्थानीय सरकार आएपछि बजारमा हुने गरेको कालोबजारी केही भएपनि कमि आएको पाएका छौँ । हामीले विभिन्न समयमा अनुगमनको पक्षलाई बलियो बनाउँदै लगेका छौँ । यसका लागि हामीले सहकारी, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय लगायतका पक्षसँग सहकार्य गरेर काम गरिरहेका छौँ ।
सबैको साथ र सहयोगले मात्रै बजारमा हुनसक्ने कालोबजारी नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गरेका छौँ । कहिँकतै अझै पनि त्यस्तो कालोबजार पाइएमा हामीले कानुन बमोजिम कारवाही प्रक्रिया थाल्नेछौँ । कस्तो कुरालाई अखाद्य, कस्तो कुरालाई खाद्य ? भन्ने विषयमा उपभोक्तालाई सचेत गराउन हामीले विभिन्न सञ्चारमाध्यमबाट जनचेननासमेत दिने गरेका छौँ ।
अहिले चाडपर्व भित्रिदै गर्दा पनि विभिन्नखाले चलखेल हुन सक्छन् किनभने बितेका वर्षमा छिट्फुट रुपमा भएपनि केही त्यस्ता कमिकमजोरी पाइएको थियो, भेटिएको थियो तर यसवर्ष अझै भेटिएको त छैन् तर नभेटिएला भन्न सकिन्न ।
सरकारलाई करमा छली गर्नेहरुले झनै बढी कालोबजारी गरेको पाइएको छ । हामीले अहिले पनि फेरी भन्छौँ तपाई उपभोक्ता बढी सचेत रहनुस् ।
कुनैपनि सामान किन्दा अनिवार्य बिल, रसिद लैजाने गर्नुस् यदि अवैधरुपमा व्यवसाय सञ्चालन गरिरहेको रहेछ भने उसले बिल दिन मान्दैन् अनि त्यसपछि हामीले उसलाई कारवाही गर्ने बाटाहरु पनि खुल्छन् ।
उपभोक्ताको सचेतना पनि एउटा सबल पक्ष हो । जबसम्म उपभोक्ता सचेत हुँदैनन्, तबसम्म छिट्फुट रुपमा कालोबजारी चलि नै रहन्छ । खाद्य अधिकारबाट पनि उपभोक्ता बञ्चित हुनसक्छन् । हाम्रो अभियानलाई यहाँहरु सबैको साथ रहोस् जसले गर्दा महंगी र कालोबजारी नियन्त्रण गर्न सहज होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *