अधिकारका लागि निरन्तर निगरानी

मुख्य खबर समाज

घोराही, २७ फागुन । नागरिक अधिकारका लागि निरन्तर निगरानी गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । जनताकै हितमा काम गर्न आफूहरु लागि परेको भन्दै घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ का जनप्रतिनिधिहरुले वडा कार्यालयबाट दिइने सेवा प्रभावकारी भए नभएको निरन्तर निगरानी गर्ने र आवश्यक सल्लाह दिन सरोकारवालाहरुलाई आग्रह गरेका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रमअन्तर्गत आइतबार घोराही उपमहानगरपालिका–३ को कार्यालयमा भएको सेवाप्रदायक निकाय र सेवाग्राहीवीच स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा नम्बर ४ का अध्यक्ष भिमबहादुर सार्कीले वडा कार्यालयले प्रवाह गर्ने सेवा जनतामाझ पुगेको नपुगेको, वास्तविक सेवाग्राही र लक्षित वर्गसम्म पुगे नपुगेको विषयमा खबरदारी गर्न मानवअधिकार निगरानी समूहलाई आग्रह गरेका थिए ।
उनले जनताका पक्षमा काम गर्न जनप्रतिनिधि लागि परेको भन्दै काम गर्दा हुने कमीकमजोरी औल्याउन निगरानी समूहले भूमिका खेल्नुपर्नेमा जोड दिए । उक्त अवसरमा वडा नम्बर ३ का अध्यक्ष माधवप्रसाद चौधरीले निगरानी समूहको खबरदारीले वडा कार्यालयलाई सेवा प्रवाहमा मद्दत पुग्ने बताए । मानवअधिकार निगरानी समूह लक्ष्मीपुरकी अध्यक्ष खिमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले विद्यालयमा इन्टरनेट सुविधा, बालविवाहविरुद्ध सचेतना, वडा नम्बर ३ मा स्वास्थ्य क्लिनिक स्थापना गर्न वडा कार्यालय तथा उपमहानगरपालिकासँग पहल गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा घोराही उपमहानगरपालिका–३ र ४ का जनप्रतिनिधि, मानवअधिकार निगरानी समूहका प्रतिनिधि, मावि गोग्ली र झिङ्नीका संरक्षक शिक्षकलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *