अदालतमा महिलाका मुद्दा बढी

फिचर मुख्य खबर समाज

तुलसीपुर, ६ पुस । उच्च तथा जिल्ला अदालतमा महिलाका मुद्दाहरु धेरै दर्ता भएका छन् । उच्च अदालत तुलसीपुर र मातहतका जिल्ला अदालतको तथ्यांकलाई हेर्दा अत्यधिक मात्रामा महिलामा मुद्दाहरु पर्ने गरेको देखिएको छ । चालु आर्थिक वर्षको चार महिनामा उच्च अदालत तुलसीपुर र आसपासका चार जिल्लामा महिला र बालबालिकामा मुद्दाको संख्या धेरै रहेको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताए । सुवेदीले उच्च अदालत तुलसीपुर मातहतका चार जिल्ला अदालत दर्ता भएका २ हजार ४ सय ३४ मुद्दाहरुमा एक हजार सात सय २५ वटा मुद्दा महिलासँग मात्रै जोडिएका रहेको बताए । उनले त्यसै गरेर २ सय २५ वटा मुद्दा बालबालिकाका रहेको जानकारी दिए । प्रत्यक्ष रुपमा महिला दोषी गराइएका र विपक्ष बनाईका मुद्दाहरु बढिरहेको उनको भनाइ छ । अंश, जबरजस्ती करणी, कर्तव्य ज्यान, वैदेशिक रोजगार कुटपिटसँग जोडिएका महिलाका मुद्दा बढी छन् । विभिन्न शीर्षकमा रहेका मुद्दा फैसला र कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाएको उच्च अदालत तुलसीपुरले फैसला कार्यान्वयनलाई पनि कडाई गरिरहेको जनाएको छ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले छिटोछरितो न्यायका लागि प्रयास भइरहेको बताए । कति त एक घण्टामा सेवा दिने गरी काम गरिरहेका छौँ, उनले भने, महत्वका विषय पनि जति सक्यो त्यति छिटो गर्नुपर्छ भन्ने लक्ष्य छ ।उनले गत वर्षमा ६ महिनामा भएको काम यस वर्ष चार महिनामा पूरा गरेको जानकारी दिए । उनले देवयानीभन्दा फौजदारी मुद्दाको संख्या बढिरहेको जानकारी दिए । फैसला कार्यान्वयनमा सबैको सहयोग हुनुपर्ने भन्दै स्थानीय तहले बढि निगरानी गरेमा सबै फैसला कार्यान्वयन हुने बताए । यसका लागि दोषीहरुलाई स्थानीय तहबाट हुने सेवा प्रवाहसमेत रोक्न निर्देशन भइसकेको जानकारी दिए ।

अंश, जबरजस्ती करणी, कर्तव्य ज्यान, वैदेशिक रोजगार कुटपिटसँग जोडिएका महिलाका मुद्दा बढी छन् ।


लक्ष्यभन्दा बढी फछ्र्यौट

उच्च अदालत तुलसीपुर र मातहतका जिल्ला अदालतहरुको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी कार्यसम्पादन भएको उच्च अदालत तुलसीपुरले जनाएको छ । उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तोकेको लक्ष्यभन्दा बढी नै कार्यसम्पादन गरेको उच्च अदालत तुलसीपुरका रजिष्ट्रार श्रीलाल पौडेलले बताए ।
उच्च अदालत तुलसीपुर, जिल्ला अदालत दाङ, रोल्पा, प्यूठान, रुकुमकोटमा लक्ष्यभन्दा बढी मुद्दाहरु फछ्र्यौट गरिएको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । उनले चौमासिकको लक्ष्यमा २१ सय २५ प्रतिशत मुद्दा फछ्र्यौट भएको बताए । ५ सय ३७ मुद्दा फछ्र्यौटको लक्ष्य लिएकोमा ५ सय ९१ मुद्दा फच्र्यौट भइसकेको रजिस्टा«र पौडेलले बताए । उनका अनुसार उच्च अदालतमा एक सय मुद्दा फछ्र्यौटको लक्ष्य लिएकोमा एक सय १४ मुद्दा, जिल्ला अदालतले २ सय ९६ मुद्दा फछ्र्यौटको लक्ष्य लिइएकोमा ३ सय ८ मुद्दा फछ्र्यौट भएका छन् । रोल्पा जिल्ला अदालतले ६४ मुद्दा फछ्र्यौटको लक्ष्य लिएकोमा ८५ वटा, प्यूठान जिल्ला अदालतमा ६७ को लक्ष्य लिएकोमा ६९ मुद्दा, र रुकुमकोट जिल्ला अदालतले १० वटा लक्ष्य रहेकोमा १५ वटा मुद्दा फछ्र्यौट गरेको पौडेलले जानकारी दिए । उनले विशेष अवस्थाका बाहेक २ वर्ष काटेका मुद्दासमेत अदालतहरुमा नरहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *