अटोरिक्सामा नयाँ भाँडा

मुख्य खबर समाज

घोराही, ९ साउन ।
दाङमा सञ्चालन हुँदै आएका अटोरिक्साहरुलाई एकरुपता भाडा दर कायम गर्नको लागि स्थायी भाडा दर कायम गरिएको छ । पछिल्लो समयमा अटोरिक्सा चालकहरुले मनपरी भाडा लिएको भन्दै सेवाग्राहीहरुको गुनासो आउन थालेपछि भाडामा एकरुपमा लिनको लागि स्थायी भाडा दर कायम गरिएको हो । प्रदेश टुडेको असार १६ गतेको अंक अटोरिक्साहरुको मनपरी भाडा शीर्षकको समाचार प्रकाशन भएको थियो । सेवाग्राहीहरुको गुनासोलाई मध्यनजर गर्दै यातायात व्यवस्थापन समितिले भाडा दर कायम गर्नको लागि उपसमिति समेत कायम गरेको थियो । यातायात व्यवस्थापन समिति दाङको असार २२ गते बसेको बैठकले अटोरिक्सा स्थायी भाडा दर कायम गर्र्न एक उपसमिति कायम गरेको हो । त्यो उपसमितिले भाडादर सिफारिस गरी यातायात व्यवस्थापन समितिबाट पारित नहुँदासम्म प्रति दुई किलोमिटर २० रुपैयाँ र बाँकी प्रत्येक एक किलोमिटरमा १० रुपैयाँ र प्रतिव्यक्ति थप भाडा लिने गरी तदर्थ भाडा दर कायम गरेको थियो । बैठक अनुसार भाडा दर लिनको लागि आफ्ना समितिअन्तर्गतका अटोरिक्सा समितिहरुलाई जानकारी गराई भाडामा एकरुपमा कायम गर्न यातायात व्यवस्थापन समिति दाङका निमित्त कार्यालय प्रमुख मित्रलाल ढकालले जानकारी गराएका थिए ।
समितिले भाडा दर एकरुपमा कायम गर्नको लागि नेपाल यातायात स्वतन्त्र मजदुर टेम्पो व्यवसायी समिति घोराही, बराहदेव टेम्पो यातायात प्रालि शाखाहरु घोराही, लमही, भालुवाङ, लालीगुराँस टेम्पो यातायात प्रालिका शाखाहरु घोराही, लमही, गढवा, सिसहनिया, भालुवाङ, अम्बिकेश्वरी टेम्पो यातायात प्रालि घोराही, एकता यातायात सेवा प्रालि (अटोरिक्सा) तुलसीपुर, छहरा सेवा प्रालि अटोरिक्सा तुलसीपुरलाई असार २७ गते पत्रसमेत पठाएको थियो । यसैबीच टेम्पो र अटोचालकहरु भने यातायात व्यवस्थापन समितिले कायम गरेका स्थायी भाडा दरप्रति आपत्ति जनाएका छन् । उनीहरुले टेम्पो तथा ई–रिक्सा व्यवस्थापन समितिले घोराहीको तुलसीपुर चोकलाई आधार मानी तोकिएको भाडा दरलाई यथावत राख्न माग गरेका छन् । समितिले भाडादर प्रति किलोमिटर प्रतिव्यक्ति २५ रुपैयाँको दरले तोकेको छ । समितिले पाँच वर्षभन्दा माथिलाई भाडा लाग्ने, १० केजीभन्दा माथि ५० केजीसम्मलाई यात्रु सहर भाडा लाग्ने निर्णय गरेको थियो । तर समितिले निर्णय गरेको भाडा दरमा अटोरिक्साहरु सञ्चालनमा थिएनन् ।
अटोरिक्सा चालकहरुले सेवाग्राहीवाट २५ रुपैयाँ लिनुपर्ने भाडामा एक सय पचास रुपैयाँसम्म भाडा लिएको भन्दै व्यापक गुनासो आएको थियो । समितिले निर्धारण गरेको भाडादरमा अटोरिक्सा चालकहरुले भाडा लिएको समिति अटोरिक्सा र टेम्पो समितिले दाबी गरेका छन् । बराहदेव टेम्पो यातायात प्रालिका अध्यक्ष तकमान घर्तीमगरले समिति र प्रालिमा आवद्ध नभएको अटोरिक्सा तथा टेम्पो चालकहरुले मनपरी भाडा लिएको बताउँछन् । ‘प्रालि र समितिमा आवद्ध भएका अटो तथा टेम्पो चालकहरुले मनपरी भाडा लिदैनन्, उनीहरुको साथमा भाडादर पत्र पनि साथमै हुन्छ’ अध्यक्ष घीर्तमगरले भने ‘समिति र प्रालिमा आवद्ध नभएका चालकहरुले बढी भाडा लिएका हुन सक्छन्, त्यसको असर सम्पूर्ण चालकहरुलाई परेको छ ।’ यातायात व्यवस्थापन समितिले असार २२ गते स्थायी भाडादर कायम गरिएको प्रति आपत्तिसमेत जनाएका छन् । उनले तीन वर्ष पहिले समितिले निर्धारण गरेको भाडादरलाई यथावत राख्न माग गरेका छन् ।
‘यातायात व्यवस्थापन समितिले कायम गरेको स्थायी भाडादरले अटोरिक्सा मजदुरहरुको पक्षमा भएन्’ उनले भने ‘हामी मजुदरहरुले निर्धारण गरेको भाडा दरलाई यथावत राखिनुपर्छ ।’ यातायात व्यवस्थापन समितिले कायम गरेको अटोरिक्सा भाडादरप्रति असहमति जनाउँदै अटोरिक्सा चालकहरुले भेलासमेत भएको थियो । भेलाले जिल्ला संयुक्त अटो टेम्पो व्यवसायी समितिको संयोजकमा अमर बुढालाई चयन गरेको छ । भेलाले २०७३ साल यातायात व्यवस्थापन समिति, ट्राफिक प्रहरी कार्यालय, नगरपालिकाले निर्धारण गरेको भाडादरमा पाँच रुपैयाँ बढाएर नयाँ भाडादर निर्धारण गरेको जनाएको छ ।
समितिले आज बिहीबार यातायात व्यवस्थापन समितिमा भेलाले निर्धारण गरेको भाडादर बुझाउने जानकारी गराएको छ । यातायात व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिकाको कार्यालय, तुलसीपुर उपमहानगरपालिका कार्यालय, लमही नगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, ईलाका प्रहरी कार्यालयलाई भाडादरमा एकरुपता कायम गराउनको लागि बोधार्थ पत्र समेत पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *